कञ्चनपुर की ६५ वर्षीया गुल्टी धामी घरमा नौलो मान्छे आउनेबित्तिकै पुराना एल्बम निकाल्छिन् ।एल्बमका पाना फर्काउँदै बेपत्ता छोराका तस्बिर देखाउँछिन् । अनि भन्छिन्, ‘अब त छोराहरू नदेखेरै मर्ने भएँ ।’उनलाई थाहा छैन आफ्ना बेपत्ता छोराहरू जीवित छन् वा छैनन् । तैपनि मर्नुअघि एकपटक मात्रै भए पनि हेर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
छोराहरूलाई सम्झेर रातदिन पिरोलिन्छिन् । १८ वर्षअघि रोजगारीका लागि भारत पसेका गुल्टीका जेठा छोरा नम गएदेखि घर फर्केका छैनन् । कञ्चनपुरको महाकाली नगरपालिका–९, ढकनाघाट बस्ने नम गाउँलेसँगै भारत, उत्तराखण्डको अल्मोडातिर गएका थिए । त्यसपछि उनी कहिल्यै परिवारको सम्पर्कमा आएनन् ।नम अल्मोडा गएको दुई वर्षपछि उनका भाइ धनबहादुर पनि रोजगारीकै लागि गाउलेसँग दिल्ली गए । उनको पनि कुनै अत्तोपत्तो छैन ।
गुल्टी अहिले दिल्लीबाट कोही गाउँले घर फर्कियो भने धनबहादुरका बारेमा सोध्छिन् । सबैबाट उनले पाउने एउटै जवाफ हो, ‘हामीले कतै देखेनौं, केही थाहा भएन ।’गुल्टीका साइला छोरा पदम दुई दाजुभन्दा पहिले ९ वर्षको उमेरमै छिमेकीसँग दिल्ली गएका थिए । एक वर्षसम्म घरमा सम्पर्क भइरहन्थ्यो । होटलमा काम गर्थे । चिठीपत्र पठाइराख्थे । एक वर्षपछि उनी त्यो काम छाडेर अन्तै गए । त्यसपछि न त घरमा चिठी पठाए न उनीसँगै गएका गाउँलेले कतै देखे ।
‘२२ वर्ष भयो पदम हराएको,’ गुल्टीले भनिन्, ‘त्यसपछि जेठो र माइलो पनि इन्डिया गए, उतै हराए केही खबर छैन ।’गुल्टीका पाँच छोरामध्ये कान्छा राम मलेसियामा छन् । अर्का छोरा कर भारतकै केरलामा छन् । गुल्टीले आफ्ना बेपत्ता छोराहरू फर्किने आस मारेकी छैनन् । ‘मर्नुअघि छोराहरू भेट्छु भन्ने मेरो मनले भन्छ,’ उनले भनिन्, ‘बूढा यही आसमा बिते, अब मेरो पनि भर छैन ।’
तीन छोरा बेपत्ता भएको धामी परिवारले कतै उजुरी वा निवेदन दिएन । भारतमा हराएका छोरालाई नेपालका प्रहरीले खोजिदेलान् भन्ने उनीहरूलाई लागेन । त्यसैले गाउँघरतिरै धामीझाँक्री र ज्योतिषीकहाँ हेराउने काम मात्रै गरे । अहिले पनि गुल्टी जोखाना हेराउन विभिन्न ठाउँ दौडिराख्छिन् ।कञ्चनपुरकै वेदकोट नगरपालिका–१, पिपलथलाकी ७० वर्षीया कौशिला चन्दलाई गाउँमा नौलो व्यक्ति आउँदा २२ वर्षअघि बेपत्ता भएको आफ्नै छोरा आएजस्तो लाग्छ ।
आँखा देख्ने बेलासम्म उनी हेरिराख्छिन् । उनका माइला छोरा धर्म चन्द २२ वर्षअघि ८ कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा गाउँलेसँग भागेर भारततर्फ गएका थिए तर उनी फर्केनन् ।एकपटक गाउँलेले भारतकै मुम्बइमा देखेको खबर घरमा पुर्याए । धर्मका बुवा चन्द्रबहादुर हतारहतार गाउँलेसँगै मुम्बई पुगे तर छोराको अत्तोपत्तो लागेन ।‘बाबु बितेको १८ वर्ष पुग्यो, छोराको कुनै पत्तो लागेन,’ कौशिलाले भनिन्, ‘अब फर्किने आस छैन ।’ उनका अनुसार धर्म घरबाट स्कुलबाहेक कतै जाँदैनथे ।गाउँले भारत जाने भएपछि उनी एक साताअघि नै घर छाडेर महेन्द्रनगर बजारमा बसेका थिए । धर्म पनि उनीहरूसँगै भारततर्फ गएको खबर ढिला गरी पाएको कौशिलाले बताइन् । आजको कान्तिपुर दैनिकमा कञ्चनपुरबाट भवानी भट्टले लेखेकी छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved