किन बोल्दैनन् बादल? के भएको हो उनलाई?

  • पुस ३, २०७६
  • १९६ पटक पढिएको
  • न्यू पाटी
alt

आफ्नै सपना र गाउँको माहोलले हुत्याएपछि भारतीय सेनामा भर्ती भएका कर्णबहादुर थापाले गुल्मीको बडागाउँ त छोडे तर श्रीमती र सन्तान छोड्न सकेनन् ।

त्यसैले सपना पछ्याउँदै भारत हान्निएका उनलाई पछ्याएर त्यतै पुगे जीवनसंगिनी र लालाबाला पनि ।

दोस्रो विश्वयुद्धको समय । भारतीय सेनाका मेजर कर्णबहादुरको कहिले कता, कहिले कता सरुवा भइरहन्थ्यो । उनको सरुवा जता हुन्थ्यो, छोराछोरीको पढाइ पनि त्यतैत्यतै हुन्थ्यो ।

कहिलेकाहीँ त ६–६ महिनामै फेरिन्थे स्कुल । नेपालको पहाडबाट झरेका उनको परिवारका सदस्य देख्नमा भारतीयभन्दा अलि पृथक् थिए । अझै बेग्लै देखिन्थे– उनका जेठा छोरा ।

कर्णबहादुरका तिनै जेठा छोरा हुन्– रामबहादुर थापा ‘बादल’ । जो अहिले नेकपा सचिवालय सदस्य र गृहमन्त्री छन् । जिम्मेवारीका हिसाब उनी बोलिरहनुपर्ने ठाउँमा छन् तर हम्मेसी बोल्दैनन् । यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

गत मंसिर २३ गते सचिवालय बैठक ४ घण्टा बस्यो, केही सैद्धान्तिक एजेन्डामा घनिभूत छलफल पनि भयो तर बादलको बोली फुटेन । ‘सबै नेता छलफलमा सहभागी भएर आ–आफ्ना तर्क राखिरहेका हुन्छन्, उहाँ बोल्दै बोल्नुहुन्न,’ एक सचिवालय सदस्यले भने, ‘बादलजीले बोल्ने र पक्ष विपक्षमा छलफल गर्ने भनेको दुर्लभ घटना हो । जब उहाँ हल्लिनुहुन्छ ०७२ को भन्दा ठूलो भूकम्प ल्याइदिनुहुन्छ।’

०७३ सालमा वैद्य समूह छोडेर मूल पार्टी माओवादीमै फर्किए । ०७५ मा एमाओवादी र एमाले मिलेर नेकपा बनेपछि उनी त्यसरी बोलेको सम्झना नेकपा सचिवालयका सदस्यहरूलाई छैन ।

पक्ष–विपक्षको लडाइँमा ‘बादल’ को यही मौनतालाई दुवै अध्यक्षहरूले आफूअनुकूल व्याख्या गरे । गुटको हिसाबकिताबमा दुवै अध्यक्षका खातामा चढे तर बादल हल्लिएनन्, पार्टीभित्रका यस्ता बहस उनले मुसुमुस हाँसेर टारिदिए ।

उनी सचिवालयमा मात्रै होइन, मन्त्रिपरिषद् बैठकमा पनि हम्मेसी बोल्दैनन् । ‘एउटा एजेन्डा आयो भने धेरैजसो मन्त्रीहरू कल्याङमल्याङ गरिरहन्छन्, उहाँ नबोलेपछि प्रधानमन्त्रीज्यूले गृहमन्त्रीज्यूको पनि केही छ कि भनेर सोध्नुपर्छ,’ मन्त्रिपरिषद् बैठकमा बादलको उपस्थितिबारे उनकै सहयात्री एक मन्त्रीले भने, ‘बादलजी र मौनता पर्यायवाचीजस्तै हो।’

बादल किन मौन बस्छन्? उनको जवाफ छ, ‘म पहिलेदेखि नै कम बोल्ने मान्छे हुँ, अनावश्यक विषयमा किन धेरै बोलिरहनु ?’ बादलले आफूलाई अन्तर्मुखी स्वभावको भनेर बारम्बार भनिरहेका हुन्छन् ।

उनले युद्धकालीन मोर्चाका बैठकहरूमा पनि आफ्ना भनाइ राख्दा ‘म अलिकति अन्तर्मुखी स्वभावको छु,’ भनेर आफ्ना कुरा सुरु गर्थे । सैद्धान्तिक बहस र प्रशिक्षण त उनले पाँच घण्टा लामो पनि गरेका छन् ।

पुष्पकमल दाहालसँगको मित्रताले २० वर्ष पार गर्नै लाग्दा उनीहरूकै अगुवाइमा सुरु भएको जनयुद्धले खास आकार ग्रहण गरिनसक्दै बादलको यात्रामा संकटहरू आए । उनीमाथि बारम्बार कारबाहीको निर्णय दाहालको नेतृत्वमा भयो ।

त्यसपछि बादल झन् कम बोल्ने हुँदै गए । पार्टी फुट्यो, एक भयो तर बादलले खुलेर बोल्ने साथी पाएनन् । यिनै घटनाक्रमले बादल मौनतामै अल्झिरहन्छन् भन्ने विश्लेषण उनी निकटहरूको छ ।

त्यसो हो भने नेकपाको राजनीति र सरकारको काममा बादल तटस्थ छन् त ? ‘राजनीतिमा तटस्थता भन्ने हुँदैन, म त झन् छैन,’ बादलले भने, ‘तर म कम बोल्छु, बोल्दै नबोल्ने भन्ने होइन । मलाई विषयभन्दा बाहिर गएर बोल्न उचित लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved