सङ्खुवासभा हत्या प्रकरण : तेजबहादुरले गुहार माग्दा गाउँलेले सुने, तर मुख खोलेनन्

  • भदौ ३०, २०७८
  • ४७२ पटक पढिएको
  • न्यू पाटी
alt

न्युज डेस्क ।  भौगोलिक विकटताका कारण ६ जनाको हत्या भएको ठाउँ सङ्खुवासभाको मादी नगरपालिका– १ खोलागाउँ पुग्न प्रहरीलाई निकै सकस पर्‍यो । प्रहरी चौकी करिब अढाई घन्टाको पैदल दुरीमा थियो । चौकीबाट अनुसन्धान गर्न कठिन थियो । घटनास्थल पुगेको ४९ जनाको प्रहरी टोली मृतक तेजबहादुर कार्कीको घरबाट करिब दुई सय मिटर टाढाको घरमा बस्यो । 

प्रदेश १ का डिआइजी अरुणकुमार बिसीका अनुसार अनुसन्धान गर्न सहज भएन । दिउँसो स्थानीय र सञ्चारकर्र्मीको भिड प्रहरी बसेको घर वरिपरि हुन्थ्यो । अनुसन्धान भने राति १० बजेपछि मात्रै सुरु हुन्थ्यो ।

‘दिउँसो होहल्ला र भिडभाडले अनुसन्धान गर्न सकिन्नथ्यो,’ कोसी अनलाइनसँग उनले भने, ‘राति १० बजे सुरु हुने अनुसन्धान ४ बजेसम्म चल्थ्यो ।’ शव भेटिएपछिका आशङ्का र प्राविधिक विश्लेषणबाट उपलब्धि हात नलागेपछि प्रहरीले गाउँबाटै हत्या हुनसक्ने निष्कर्षसहित केरकार सुरु गर्दा लोकबहादुर नोटिसमा थिएनन् ।

किनकि उनी प्रहरी टोलीलाई खाना पकाउन सहयोग गर्ने, पानी ल्याइदिने काम गर्थे । गाउँका अन्य मानिसले बयानमा नाताले भतिज पर्ने लोकबहादुर कार्की नै संलग्न हो कि भन्ने शङ्का गर्थे । तर प्रहरीसँग आधार थिएन । सोधपुछ गर्दा उनले बयान बदलिरहे । ‘लोकबहादुरले तीन–चार दिन प्रहरी टोलीलाई सघाए,’ डिआइजी बिसी भन्छन्, ‘प्रहरीसँगै भएका कारण सुरुमा आशङ्का गरिएन ।’ 

अनुसन्धानको दायर साँघुरिँदै गएपछि कार्कीको बयान पटकपटक फेरिएको उनले बताए । ‘बयान फेरिएपछि हामीले घरमा खानतलासी गर्‍यौँ,’ उनले भने, ‘खानतलासी गर्दा रगतको टाटो लागेको जस्तो हाफपेन्ट भेटियो, जुन हाफपेन्ट घटना भएको दिन कार्कीले लगाएका थिए ।’ 

हाफपेन्ट देखाउँदा सुरुमा लोकबहादुरले आफ्नो नभई भाइको भएको दाबी गरे । प्रहरीले भाइलाई पनि बोलायो । दाजुभाइलाई सँगै राखेर सोध्दा भाइले ‘मलाई फसाउन खोज्छस् भन्दै’ दाइलाई कराए ।दाजुभाइलाई राख्दा तेजबहादुरले लोकबहादुरलाई गाली गर्ने र पागल भन्दै हेप्ने गरेको खुल्यो । आर्थिक रूपमा कमजोर भएका कारण परिवारका अन्य सदस्य पनि हेपिएका थिए ।

भाइलाई राखेर कुरा गरेपछि भने लोकबहादुरले ‘प्रमाण छ भने समात्नु’ भन्दै चुनौती दिए ।६ जनामाथि प्रहार भएको दाउरा बालेको र हाफपेन्ट पनि धोएका कारण उनी प्रमाण नष्ट भएकामा ढुक्क देखिन्थे । भाइले दाजु र बडाबाको सम्बन्ध राम्रो नभएको र घरछेउबाट काल्नामुनिको शव ‘दाजुले देखेको’ भन्दै कराएपछि प्रहरीले थप केरकार गर्‍यो । 

'गाउँलेले हत्या गर्दैगर्दा देखेको र गाउँलेले भेटे आक्रमण गर्ने' भन्दै प्रहरीले छाड्दा उनी घर जान डराए । सजाय कम गर्ने आश्वासन दिएपछि मध्यरातमा बल्ल आफ्नो संलग्नता स्वीकार गरे ।स्वीकार गरेको भोलिपल्ट प्रहरीले स्थानीय जनप्रतिनिधिलाई साक्षी राखेर घटनास्थलमा लगेर ब्रिफिङ गर्न लगायो ।

शनिबार प्रमाण सङ्कलन भइसकेपछि प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर कार्कीलाई सार्वजनिक गर्‍यो । आइतबार नै उनलाई म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय खाँदबारीमा राखिएको बिसीले बताए ।सुरुमा मन भारी बनाएका लोकबहादुरले घटनामा संलग्नता स्वीकार गरेपछि उनको अनुहार फ्रेस देखिएको उनले बताए । ६ जनामाथि प्रहार गरेको दाउरा बालेको र कपडा पनि धोएका कारण प्रहरीले तत्काल दह्रो प्रमाण भेटेको छैन । आरोपीको साबिती बयान सङ्कलन गरेको प्रहरीले घटनाको अन्य विवरण सङ्कलन गरिरहेको छ ।

डिआइजी बिसीका अनुसार हाफपेन्टमा देखिएको दाग परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । 

'गाउँलेले सुने तर बोलेनन्'

गत सोमबार बिहान तेजबहादुर घर पुग्दा लोकबहादुर सुतिरहेका थिए । भाइ र बुबा भने घाँस काट्न गएका थिए ।खेताला बोलाउन गएका उनले सुतिरहेको देखेपछि लोकबहादुरलाई गाली गरे । मृत्यु हुनुअघि लोकबहादुरका हजुरबुबाले तेजबहादुरलाई छोरानातिको रेखदेख गर्न भनेका थिए ।

लोकबहादुरको घरबाट फर्किंदै गर्दा गाली गरेको रिसमा पिछा गर्दै पछाडिबाट दाउराले प्रहार गरेको डिआइजी बिसीले बताए ।उनका अनुसार टाउकोमा दाउरा प्रहार गर्दा तेजबहादुरले ‘लोकेले मार्‍यो गुहार !’ भन्दै कराए । तेजबहादुरले गुहार मागेको आवाज गाउँलेले सुने । तर प्रहरी अनुसन्धानका क्रममा कसैले आवाज सुनेको स्वीकार गरेनन् । 

‘हामी मृतकको घरबाट अढाई सय मिटर माथि बसेका थियौँ, त्यहाँ बोलेको सबै सुनिन्थ्यो,’ उनले भने, ‘तेजबहादुरले गुहार माग्दा श्रीमती र बुहारी गएका छन्, साना केटाकेटी पनि बाहिर निस्किएका छन् । गाउँका अरूले नसुनेको मान्नै सकिँदैन तर पनि उनीहरूले सुनेको स्वीकार गरेनन् ।’ 

घटना भएको तेस्रो दिन डिआइजी बिसी घटनास्थल पुगेका थिए । ‘लुटपाट, यौन हिंसा, रिसइबी, अंशबण्डा देखेर प्लान बनाएको हो कि भनेर अनुसन्धान सुरु गरेका थियौँ,’ उनले भने, ‘शवको प्रकृति हेर्दा प्लान मर्डर जस्तो देखिएन, धनसम्पत्ति पनि घरमै भेटिएकाले अनुसन्धानको दायरा साँघुरियो ।’ 

उनका अनुसार तेजबहादुरमाथि सुरुमा दाउरा प्रहार गरेका लोकबहादुरले त्यसपछि घटनास्थलतर्फ जाँदै गरेकी श्रीमती कमलाको टाउकोमा प्रहार गरे । उनलाई प्रहार गरेको देखेपछि बुहारी रञ्जना बेहोस भएर लडिन् । उनीमाथि बेहोसीकै अवस्थामा प्रहार भयो ।

घरबाट माथि उक्लिएर हेरिरहेका दीपेन र गोमाको भने छिमेकीको घरतर्फ भाग्दै गर्दा हत्या भयो । दीपेन र गोमाको हत्या गर्दा हजुरआमा बोलेको सुनेपछि गएर हत्या गरेको बयान दिएका छन् ।

सुरुमा तागतिलो मान्छे र त्यसपछि कमजोर मान्छेलाई मारेको देखिएको उनले बताए । घटनास्थल फरक–फरक भएका कारण एकै व्यक्तिले हत्या गरेको भन्ने टुङ्गोमा पुगेको उनले बताए । लोकबहादुरले हजुरआमा ८४ वर्षीया पार्वता, ५२ वर्षीय ठुलोबुबा तेजबहादुर, ५२ वर्षीया ठुलीआमा कमला, भाउजू ३२ वर्षीया रञ्जना, ११ वर्षीय भतिज दीपेन र सात वर्षीया भतिजी गोमा कार्कीको हत्या गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved