आम्दानीको स्रोत बन्दै ‘अकबरे’

  • भदौ २६, २०७८
  • ८४९ पटक पढिएको
  • न्यू पाटी
alt

पाचँथर / हरेक हप्ताको बिहान फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ स्थित चिलिङ्देनको उकालो बाटोमा डोकोमा भारी बोक्नेको ताँती भेटिन्छन् । उनीहरुको डोकोमा रातो अकबरे खुर्सानी हुन्छ । करिब ५० किलोग्राम बराबरको एकाबिहानै खुर्सानीको भारी बोकेर संकलन केन्द्रमा पसिना पुच्छदै पुग्ने गर्दछन् उनीहरु । त्यहाँ पुग्नलाई लगभग एक घण्टाभन्दा बढी समय लाग्छ तैपनि उनीहरु दुःखी छैनन् ।

श्रावणदेखि बेर्ना आफैं उत्पादन गरेर फागुन–चैत महिनामा रोपेको अकबरे खुर्सानीको बिरुवाले असार अन्तिम हप्तादेखि आम्दानी दिन थालेको छ । प्रत्येक वर्ष नयाँ बिरुवा रोप्ने गरेको र एक बोटले न्यूनतम् पाँच सय ग्रामदेखि एक किलोसम्म उत्पादन हुने किसानहरु बताउँछन् । यतिबेला प्रति किलोग्राम तीन सयदेखि तीन सय ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ । उनीहरुले रोपेर बचेको बेर्ना प्रति गोटा दुई रुपैयाँदेखि पाँच रुपैयाँसम्म बिक्री पनि गर्दछन् । पहाडका कृषकको करोडौं आम्दानीको स्रोत बन्दै गरेको अकबरे खुर्सानी दिनहुँ ग्राहकको माग बढ्दो छ । यो बेला उनीहरुको आम्दानी भित्र्याउन मारामार छ ।

कर्मचारी, राजनीतिकर्मी, किसान सबै एकछत्र छन् खेतीमा । घरैपिच्छे व्यावसायिक अकबरे खुर्सानी खेती गर्ने मानिस प्रशस्त भेटिन्छन् । कालो सुनका नामले परिचित अलंैची जस्तै अकबरे खुर्सानीले पनि ‘रातो सुन’ उपनाम पाउन थालेको छ । अकबरे खुर्सानीको राजधानी भनेर चिनिएको चिलिङ्देनमा २०–२५ वर्ष अघिदेखि किसानले यसको खेती गर्दै आएका थिए । त्यसपछि २०६९ सालमा सिरिजङ्गा कृषि सहकारी संस्था दर्ता गरी व्यावसायिक खेती र सामुहिक बिक्री गर्न थालिएको संस्थाका अध्यक्ष तारावीर नेम्बाङ बताउँछन् ।

विभिन्न संस्थाबाट सम्मानित भएको यस संस्थामा हाल ६० जना सदस्यले लगभग दुई सय रोपनी जमीनमा रोपेको खुर्सानी संस्थाले स्थापना गरेको चार वटा संकलन केन्द्रमा हरेक हप्ता जम्मा गर्ने गर्दछन् । हप्तामा २५ देखि ३० क्विन्टल जम्मा हुने खुर्सानी झापामा रहेको मगमग चाउचाउको डिलरले खरिद गरिरहेको संस्थाका सचिव इन्द्र नेम्बाङले जानकारी दिए । यसअघि सुनसरी जिल्लाको इटहरीस्थित रिजल टासी ड्रप कम्पनीले लैजाने गरेको थियो । संस्थाका धेरै सदस्यले कतिपय बजारमा व्यक्तिगत रुपले बिक्री गरिरहेको हुँदा खरिद गर्ने डिलरको माग अनुसार खुर्सानी पु¥याउन नसकेको उनको भनाई छ ।

बचत तथा ऋणको समेत कारोबार गर्ने यस संस्थाको जम्मा ४५ लाख बराबरको आर्थिक कारोबार हँुदै गरेको बताइएको छ । यस संस्थामा हाल चार सय सदस्य छन् । संस्थालाई, अकबरे खुर्सानी उत्पादन, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित क्रार्यक्रम २०७१–०७४ सम्म पाँचथर उद्योग वाणिज्य संघको आयोजनामा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र काठमाडांैको सहयोगमा तालिम सम्पन्न गराइसकेको जनाइएको छ । त्यस्तै, प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र पाँचथरद्वारा प्राविधिक सहयोगसहित दुईवर्ष पहिलेदेखि अकबरे खुर्सानीको ब्लक कार्यक्रम सञ्चालन आएको छ । ब्लक कार्यक्रम मार्फत मल्चिङ प्लाष्टिक, मिनीटिलर, प्लाष्टिक टनेल, स्प्रे लगायतका सामग्री उपलब्ध गराउँदै आएको सचिव नेम्बाङले बताए ।

सोही वडाका डम्बर नेम्बाङ(गोवा)ले करिब चार रोपनी जमिनमा ५० हजार रुपैयाँ लागतमा एक हजार आठ सय वटा बिरुवा रोपेर अहिले हप्ताको ६० किलोग्राम खुर्सानी झापाको दमकमा पठाउने गरेको बताए । उनले गरेको व्यावसायिक खेतीबाट महिनामा लगभग ७० हजार रुपैयाँ बराबरको आम्दानी हुने उनको भनाइ छ । बिहानै डोकोमा उनको श्रीमतीको साथमा दुई घण्टाको बाटो हुँदै बोकेर ल्याउने र झापा जाने गाडीमा क्यारेटमा भरेर पठाउने गर्दछन् । मेहनत गरे विदेशमा गएर कमाई गरे जति घरैमा कमाई हुने उनको दाबी छ ।

मकै खेती गर्नुभन्दा धेरै किसान अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न रुचाउन थालेको बताउँछन् इलाम फाकफोकथुम–१, खाम्बाङ निवासी लालबहादुर र खगेन्द्र बोहोरा । उनीहरुले चार वर्ष पहिले बहुवर्षे अकबरे खुर्सानी लगाएका थिए । अहिले महिनामा ३५ देखि ४५ हजारसम्मको खुर्सानी बिक्रि गर्ने गरेको बताए । शुद्ध अग्र्यानिक उत्पादन गरेको दाबी गर्ने बोहोराले भने– ‘धेरैजसो खुर्सानी घरैबाट ग्राहकले लैजाने गरेका छन्, अहिले बजार खोज्न टाढा जानु परेको छैन ।’ अकबरे खुर्सानीको यस समयमा सबैतिर चर्चा हुने सिजन छ । यसैबीच इलाम फाकफोकथुम गाँउपालिका उपाध्यक्ष सरस्वती राई(सरु) वडा नम्बर ५ लुम्देका किसानले बारीमा टिप्दै गरेको खुर्सानी रहरले हातमा देखाउँदै किसानलाई उत्साह थप्न सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । त्यस्तै, फाल्गुनन्द–५ का युवा उद्यमी भीम चेम्जोङ पनि खुर्सानी खेतीको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेर प्रचार गर्दछन् ।

त्यस्तै वडा नम्बर ४ का स्थानीय अगुवा कृषक बेला–बेला उनको याङ्फुङ् कृषि फर्मबाट हुँदै प्रगति भिडियो सामजिक सञ्जालमा हालेर विज्ञापन समेत गर्छन् । बिभिन्न क्षेत्रबाट सम्मानित भई प्रशिक्षकको समेत भूमिका निर्वाह गरेका उनले तरकारी खेती सम्बन्धी जानकारीमूलक प्रशिक्षण पनि दिने गरेका छन् । धेरै किसिमको तरकारी खेती गरेर वर्षेनि लाखौं रुपैयाँको आम्दानी गर्ने नेम्बाङले बेर्नाको लागि बियाँ र तयारी बेर्ना बिक्री गर्दे आएको बताए । उनको फर्ममा उत्पादन भएको तरकारीजन्य वस्तु स्थानीय बजार राँके, देउराली, पुरानो पञ्चमी घुर्बिसे पञ्चमी, उत्तरे, सप्तमी, रवि लगायतका क्षेत्रमा बिक्री हुने गरेको बताउँछन् ।

शुरुवातको समयमा रोप्ने ड्याङ् बनाउन खर्चिलो हुने, मल खरिद गर्न र सामग्री जस्ता कठिनाई व्यहोर्नु पर्दा झन्झट भएता पनि बिरुवा राम्रो हुर्किएमा दुहुनो गाई सरह दैनिक आयस्रोत हुने उनको भनाइ छ । तर, प्राविधिक ज्ञानको अभाव र रोपेको बिरुवा बढी पानी परेका कारण मर्ने, चिसो, सित, तुसारोको असर भएमा खेती गर्न समस्या हुने उनले बताए ।

प्रत्येक नेपालीले कौंसीखेती गर्न समेत रहर गर्ने अकबरे खुर्सानी कतिपय मानिसहरु खुर्सानी बिना खाना नखाने पनि छन् । घुर्बिसे निवासी सीता रहपाल सुतकेरी अवस्थामा डाक्टर र परिवारले नखानु भनेको खुर्सानी पनि लुकाएर हरेक समय खाएको बताउँछिन् । त्यसको स्वादले धेरै खाना रुचाउने र अत्यन्तै स्वादिलो हुने उनले बताइन् । मसला, अचारजन्य वस्तुको निर्माण, तयारी खाना, होटल, रेस्टुरेन्ट, खाजा घर, तरकारी लगायतमा प्रयोग हुने अकबरे खुर्सानी पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र न्यानो मौसममा हुने वाली हो ।

यसले तुषारो र धेरै चिसो पनि सहन सक्दैन त्यसैले टनेल खेती गर्न थालिएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि कोसेलीको रुपमा जाने गरेको अकबरे खुर्सानी डाक्टरले ग्याष्ट्रिक र चिसोबाट बच्न पनि प्रयोग हुने समेत सल्लाह दिने गरेको पाइन्छ । पूर्वी पहाडी इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा राम्रो उत्पादन हुने गर्दछ । पहाडको खुर्सानी निक्कै लोकप्रिय मान्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved