मेस्सीलाई पिएसजी जानबाट रोक्दै बार्सिलोना

  • श्रावण २६, २०७८
  • ७०३ पटक पढिएको
  • न्यू पाटी
alt

युरोपका शीर्ष क्लबहरूमा कोरोना महामारीका कारण आर्थिक सङ्कट लागिरहेको अवस्थामा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) भने दरिलो रूपमा प्रस्तुत भइरहेको छ । पिएसजीले यस सिजन महँगा खेलाडीलाई भित्र्याएर आफूलाई आर्थिक रूपमा अब्बल साबित गरिसकेको छ । 

पिएसजीले यो सिजन जियानलुइजी डानारुमा, सर्जियो रामोस, अच्राफ हाकिमी, जर्जिनियो विज्नाल्डम जस्ता हाइप्रोफाइल खेलाडीलाई अनुबन्ध गरिसकेको छ । त्यसमाथि पिएसजीमा एम्बाप्पे, नेयमार र मार्को भेराट्टीजस्ता धेरै तलब लिने स्टार खेलाडीहरू पहिले नै छन् । अब, अझ थप दुई स्टार खेलाडीसँग सम्झौता गर्ने पिएसजीको लक्ष्य छ । 

विभिन्न मिडियाका रिपोर्टअनुसार पिएसजीले विश्वकप विजेता किलियन एम्बाप्पेसँग सम्झौता थप्दै हालै बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीसँग सम्झौता गर्ने लक्ष्य लिएको छ । फ्रान्सेली स्ट्राइकर एम्बाप्पेलाई स्पेनिस क्लब रियल मड्रिडले भित्र्याउने दाउ बनाइरहेको बेला र मेस्सीलाई अनुबन्ध गर्ने अरू क्लबलाई जिल्ल बनाउँदै दुवै खेलाडीसँग सहमति गरेर आफ्नो फरवार्ड लाइन बलियो बनाउने पिएसजीको योजना रहेको ‘गोल डटकम’ले जनाएको छ । 

विगत एक वर्षदेखि रियलले एम्बाप्पेलाई आफ्नो प्राथमिकतामा राखेपनि भित्र्याउन सफल भएको छैन । अहिलेको सम्झौताअनुसार अब एम्बाप्पेको पिएसजीमा १२ महिनाको सम्झौता बाँकी छ । अझ् सन् २०१७ मै सर्वाधिक महँगो दाम हालेको ब्राजिलियन खेलाडी नेयमार पिएसजी मै छन् । नेयमार पेरिसमै रहेका बेला मेस्सी र एम्बाप्पेसँग सहमति गरेर पिएसजीले आफूलाई नयाँ उचाईमा पुर्‍याउने अपेक्षा गरेको छ ।

पिएसजीले सर्वाधिक ६ पटकका बालोन डी‘ओर मेस्सीलाई वार्षिक करिब ४० मिलियन डलर दिने प्रस्ताव गरेको जनाइएको छ । एक वर्ष सम्झौता थप्न सकिने विकल्पसहित पिएसजीले मेस्सीलाई अफर गरेको बताइएको छ ।

यता, मेस्सी पिएसजी जाने निश्चित भइसकेको खबरमा जनाइएको छ । लामो समय बार्सिलोना बसेर क्लबविहीन भएका मेस्सी मङ्गलबारसम्म मेडिकलका लागि पेरिस पुग्ने दाबीसमेग गरिएको छ । यस्तै, मेस्सी अनुबन्धनको औपचारिक घोषणा गर्न पिएसजीले पेरिसको आइफल टावरसमेत बुक गरिसकिएको बताइन्छ । 

तथापि, तीन महँगा खेलाडीलाई ‘फाइनान्सियल फेयर प्ले’ अन्तर्गत निरन्तरता दिन नसक्ने भन्दै पिएसजीको टीका–टिप्पणी भइरहेको छ । मेस्सीलाई पिएसजी जानबाट रोक्नका लागि बार्सिलोनाले अहिले पनि प्रयास गरिरहेको बताइएको छ । एक रिपोर्टका अनुसार बार्सिलोनाले मेस्सीलाई अनुबन्ध गर्ने पिएसजीको कदमविरुद्ध युरोपियन कमिसनमा उजुरी गरेको छ । 

बार्सिलोनाले सम्झौता सकिएको तीन सातापछि सन् २०२६ सम्म सम्झौता गर्न सहमत भएका मेस्सीलाई ‘फाइनान्सियल फेयर प्ले’कै कारणले गुमाएको थियो । झन् आफ्नोभन्दा कमजोर अवस्था भएको पिएसजीले उनलाई भित्र्याउने खोजेको भन्दै बार्सिलोनाले युरोपियन कमिसनको कोर्ट अफ अपिलमा पेस गरेको जनाइन्छ । उक्त उजुरीमा २०१९–२० मा पिएसजीले आफ्नो कमाइको ९९ प्रतिशत पारिश्रमिकमा खर्च गरेको तर बार्सिलोनाले केबल आफ्नो कमाइको ५४ प्रतिशत मात्र खर्च गरेको उल्लेख गरिएको छ ।

‘आर्थिक अनुशासनमा पिएसीको अवस्था बार्सिलोनाको भन्दा खत्तम रहेको छ,’ उजुरीमा भनिएको छ, ‘सन् २०१९–२० मा पिएसजीको ९९ प्रतिशत आम्दानी खेलाडीको तलबमा खर्च गरिएको थियो जबकी बार्सिलोनाको ५४ प्रतिशत मात्र यसमा खर्च भएको छ ।’

फ्रेन्च क्लबको खर्चका कारण प्रतियोगितामा असर पर्ने दाबी गर्दै बार्सिलोनाले मेस्सीलाई पीएजसी जानबाट रोक्न चाहेको खबरमा दाबी गरिएको छ । मेस्सीले आफ्नो तलब ५० प्रतिशत घटाउँदा पनि युरोपियन नियामक निकाय र ला लिगाले तोकेको मापदण्डभन्दा ११० प्रतिशत हुने भएकै कारण जोआन लापोर्टाले उनको करार नवीकरण गर्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved