पूर्वसेना र माओवादी लडाकुको संलग्नतामा लुटपाटको प्रयास, अत्याधुनिक हतियारसहित ६ जना पक्राउ

  • श्रावण १४, २०७८
  • ८५८ पटक पढिएको
  • न्यू पाटी
alt

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकको त्रिवेणी टोलमा रहेको एउटा सुनचाँदी पसलमा भएको लुटपाटको प्रयासमा माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेनाको संलग्नता देखिएको छ । 

खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा गत साउन १ गते दिउँसो दिनदहाडै लुटपाटको असफल प्रयास भएको थियो । अत्याधुनिक हतियार देखाएर सर्वसाधारणलाई आतङ्कित एवम् त्रसित बनाउँदै गरिएको लुटपाट प्रयासमा माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेना सम्मिलित गिरोहको संलग्नता प्रहरीले पुष्टि गरेको हो । 

गिरोहमा संलग्न ६ जना अत्याधुनिक एवम् स्वचालित हतियार र ठुलो मात्रामा गोलीसहित पक्राउ परेका छन् । सुनसरीमा योजना बनाएर यो गिरोहले लुटपाटको प्रयास गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । लुटपाट प्रयासको दृष्य सुनचाँदी पसलमा रहेको सीसी टिभी फुटेजमा कैद छ ।

‘अघिल्लै दिन लुटपाट गर्ने योजनासहित आएको पाइयो,’ जिसीले भने, ‘सफल नभएपछि भोलिपल्ट गरिएको अर्को प्रयासमा पनि उनीहरू सफल नभएको खुलेको छ ।’ 

लुटपाटमा सात जनाको संलग्नता देखिए पनि प्रहरीले ६ जनालाई मात्रै पक्राउ गरेको छ । पहिचान खुल्न बाँकी रहेका एक जनाको खोजी तीव्र पारिएको जिसीले बताए । ‘गिरोहमा संलग्न छ जना पक्राउ परे । एक जनाको पहिचान खुल्न बाँकी छ,’ उनले भने, ‘ती व्यक्तिलाई पनि चाँडै पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने छ । प्रहरीले खोजी जारी राखेको छ ।’ 

गिरोह पक्राउ परेसँगै गैरकानुनी एवम् सङ्गठित रूपमा हतियारको प्रयोग गर्दै पूर्वमा लुटपाट तथा आतङ्क मच्चाउने गिरोह सक्रिय रहेको पुष्टि भएको उनको भनाइ छ । सुरक्षाकर्मीको विशेष टोलीले मात्रै प्रयोग गर्न पाउने एसएमजी (मेसिनगन) र पेस्तोलसमेतका हतियारको प्रयोग गर्दै गिरोहले अपराधिक गतिविधि गरिरहेको जिसीले बताए । 

प्रहरीले गिरोहमा संलग्न सङ्खुवासभाको सभापोखरी गाउँपालिका–४ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा डेरा गरी बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, सङ्खुवासभाको बाह्रबिसे घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय चिरञ्जिवी राई, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुरको पैवादुम्मा गाउँपालिका–३ घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राईलाई पक्राउ गरेको हो । 

प्रमोद बुधबार दिउँसो सुनसरीबाट पक्राउ परेका हुन् । अरू पाँच जना मङ्गलबार राति मोरङका विभिन्न स्थानबाट पक्राउ परेको एसपी जिसीले बताए । पक्राउ परेका ६ जनालाई विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका छ ।

प्रहरीका अनुसार लुटपाट प्रयासपछि गिरोहका सबै जना बूढी खोला हुँदै इटहरीमा गएर बसेको खुलेको छ । यो गिरोहलाई मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले पक्राउ गरेको हो । ठुलो मिहिनेत एवं मजवुत अनुसन्धानपछि अत्याधुनिक हतियारधारी समूहलाई पक्राउ गर्न डीएसपी मुकारुङ नेतृत्वको टोली सफल भएको हो । 

पक्राउ परेकामध्ये चन्द्रबहादुर नेपाली सेनाको शेरजङ्ग गणमा कार्यरत पूर्वजवान रहेको खुलेको छ । उनले तीन वर्षअघि जागिर छाडेका थिए । घटनामा प्रयोग गरिएको हतियार ल्याउने, व्यवस्थापन गर्ने र लुकाउने कामको नेतृत्व उनले गरेको एसपी जिसीले बताए । तर हतियार कहाँबाट ल्याएका हुन् भन्ने बारेमा खुल्न बाँकी रहेको उनको भनाइ छ । 

त्यस्तै, डायमण्ड भनिने प्रमोद चौधरी माओवादीका पूर्वलडाकु हुन् । मान्छेको हत्यामा संलग्न उनीविरुद्ध सुनसरीबाट कर्तव्य ज्यान मुद्दा चलेको थियो । उक्त मुद्दामा कैद सजाय भुक्तान गरेर डेढ वर्षअघि मात्रै छुटेपछि उनी राईसँग मिलेर अपराधिक गिरोह खडा गर्दै लुटपाटलगायतका घटनामा संलग्न हुन थालको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २०५७ सालदेखि २०६३ सालसम्म उनले तत्कालीन विद्रोही माओवादीको लडाकुका रूपमा काम गरेको प्रहरीको भनाइ छ । 

विराट चोकमा भएको लुटपाट प्रयासका क्रममा चन्द्रबहादुर र प्रमोद हतियारसहित सुनचाँदी पसलमा छिरेको र अरूले बाहिरैबाट घटनास्थलको रेकी गर्दै वरपरको अवस्था विचार गरेर बसेको पाइएको एसपी जिसीले बताए । उनका अनुसार त्यस क्रममा चन्द्रबहादुर एसएमजी र प्रमोद पेस्तोल बोकेर पसलभित्र छिरेको सिसी टिभी फुटेजमा देख्न सकिन्छ ।

एक व्यक्ति पेस्तोल तेर्स्याएर सर्वसाधारणलाई आतङ्कित पार्दै पसल बाहिर बसेका थिए । पक्राउ नपरेका उनको पहिचान पनि खुल्न बाँकी रहेको जिसीले बताए । प्रहरीका अनुसार अपराधिक पृष्ठभूमि रहेका पूर्वसेना र लडाकुको संयुक्त गिरोह अत्याधुनिक हतियारको बलमा अपराधमा संलग्न रहेको पुष्टि भएको छ । 

उनीहरू विगतमा कुनै न कुनै अपराधिक घटनामा जोडिएको प्रहरीले जनाएको छ । एसपी जिसीले पक्राउ परेकाहरूको साथबाट एउटा एसएमजी, त्यसको म्याग्जिन, ६२ राउन्ड गोली, कटुवा र अटोमेटिक गरेर दुईवटा पेस्तोल, पेस्तोलको एउटा म्याग्जिन, पेस्तोलको दुई र थ्री नट थ्री राइफलको चार राउण्ड गोली तथा दुईवटा सञ्चार सेट बरामद भएको बताए ।

उनका अनुसार को २ ह २७३६ नम्बरको अटो टेम्पो, प्रदेश १–०२–०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३ र को २१ प ६७०३ नम्बरका चारवटा मोटरसाइकल तथा विभिन्न आठवटा मोबाइल एवं १६ हजार एक सय रुपैयाँ नगद बरामद भएको छ । 

जिसीका अनुसार घटनामा प्रयोग गरिएको हतियार सुन्दरहरैँचा–५ स्थित नमुना सामुदायिक वनमा रहेको करमको रुखको टोड्काभित्र कार्टुनमा लुकाएर राखेको अवस्थामा बरामद भएको हो । पक्राउ परेकाविरुद्ध प्रहरीले हातहतियार खरखजना, डाँका, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधसहित चारवटा कसूरमा मुद्दा चलाउन बुधबार म्याद थप गरेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको छ । 

‘अत्याधुनिक हतियारको गैरकानुनी प्रयोग गर्दै अरू पनि ठुला अपराधिक घटना गराउने योजना रहेछ,’ एसपी जिसीले भने, ‘तर प्रहरी सक्रियताले सङ्गठित रूपमा मजवुत बनेको अपराधिक गिरोह पक्राउ पर्‍यो ।’ यो गिरोहको कनेक्सन र अरू सम्पर्क खोतल्ने काम भइरहेको जानकारी उनले दिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved