काठमाडौं : स्पेनिस फुटबल क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । गएराती भएको ला लिगाको खेलमा रायो भालेकानो सँग पराजित भएपछि कोम्यान बर्खास्तीमा परेका हुन् ।
यो सिजन लिगमा १० खेलपछि बार्सिलोनाले मात्र १५ अङ्क बटुल्न सकेको छ भने च्याम्पियन्स लिगको समुह चरणमा दुई खेलमा पराजित भइसकेको छ । बुधबार राति भालेकानोसँग पराजित भएपछि बार्सिलोना ला लिगाको नवौँ स्थानमा सिमित भएको छ भने शीर्ष स्थानमा रहेको टोलीभन्दा ६ अङ्कले पछि परेको छ ।
यो सिजनको सुरुदेखि नैं बार्सिलोना सम्हालिन सकेको छैन । आइतबार मात्र एल क्लासिकोमा रियल म्याड्रिडसँग पराजित भएको बार्सिलोनाको पछिल्ला चार खेलमा यो तेस्रो हार हो । १९८७-८८ को सिजनमा पनि बार्सिलोनाले यहि खाल्को नतिजा ल्याएको थियो जसमा क्लबले लिगको छैठौं स्थान हासिल गरेको थियो र च्याम्पियन लिग समेत खेल्न नपाउने भएको थियो ।
स्पेनिस क्लबले जारी गरेको विज्ञप्तिमा क्लबका अध्यक्ष जोआन लापोर्ताको निर्णयबारे कोम्यानलाई जानकारी गराइसकेको र बिहीबार उनले टोलीलाई गुडबाई भन्ने उल्लेख गरिएको छ ।
ला लिगाकै अर्को खेलमा गएराति रियाल मड्रिडले ओसासुनासँग गोलरहित बराबरी खेलेको छ । १० खेलबाट २१ अंक जोडेको रियाल मड्रिड तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved