प्रदेश १ मा विद्युत प्रवाहको मेरुदण्ड तयार

  • आश्विन २१, २०७८
  • ३७० पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । प्रदेश नम्बर १ को विद्युत प्रवाहका लागि मेरुदण्ड मानिएको कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने काम सकिएको छ । यो पहिलो प्याकेज अन्तर्गतको काम भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्वारा धनकुटाको हिलेमा संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारणलाइन निर्माण सम्पन्न भएको घोषणा गरिएको छ ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैकमार्फत दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोशी करिडोर प्रसारणलाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १००० मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । साथै एक नम्बर प्रदेशका जिल्लाहरुमा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ ।

कार्यक्रममा एक्जिम बैकका प्रतिनिधि विश्वजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए ।

प्रधिकरणले कोशी कोरिडोरमा निजी तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत आयोजनाहरुको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई मध्यनजर गर्दै आयोजनाहरुवाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाइनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्वन्धित सवस्टेशनहरुमा २२० के.भी. लाइन तथा पावर ट्रान्सफरमरहरुको क्षमता विस्तार गर्ने योजना बनाएको छ ।

आयोजनाको प्रथम चरणको कार्यको लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात दोस्रो सर्किट तार तान्ने र सम्वन्धित सवस्टेशनहरुको क्षमता विस्तारको लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकार मार्फत नेपाल विद्युत प्राधिकरणलाई लगानी जुटाई दिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यस पछी सिर्जित बन्दाबन्दीले आयोजना प्रभावित भएको थियो । यस प्रसारण लाइनमा जडान हुने विभिन्न उपकरणहरु र प्राविधिकहरु कोरोना महामारीको कारणले पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुग्दा निर्माण प्रभावित भएको थियो । प्रसारण आयोजना तीन वटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीन वटा सबस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गर्ने छ ।

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्याकेज १को निर्माण भएको छ भने २ र ३ को क्रमश ८०–७० प्रतिशत निर्माण सकिएको छ । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।आयोजनाको दोस्रो प्याकेज अन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०/१३२/३३ केभीका तीन वटा सबस्टेसनहरु र इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’ को काम अन्तिम चरणमा छन् । आयोजनाको सम्पूर्ण कार्य मार्च २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

इनरुवामा अहिले २२० केभीको सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेसन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको हो । प्याकेज २ अन्तर्गत सबस्टेसनहरुको निर्माण र नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०/१३२/३३ के.भी. इनरुवा सबस्टेसन सम्पन्न गरी इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङ्गटार प्रसारणलाइनलाई डिसेम्बर, २०२१ सम्ममा २२० के.भी. मा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

हाल ३३ केभीमा चार्च गरिएको प्रसारण लाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिएको छ । यसबाट वर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ । तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु वर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ । संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ ।

करिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि २५ फेब्रुअरी २०१६ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७३ लाख डलर (करिब ४ अर्ब) छ । दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२०/१३२/३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाइ २०१८ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसको निर्माण मार्च २०२२भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर (करिब २ अर्ब ९१ करोड) छ । तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नु पर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved