काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ । आज आयोगले पत्रकार सम्मेलन मार्फत यसको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मधेश प्रदेशका जिल्ला बाहेक अन्य सबै जिल्लामा आज मतपत्र ढुवानी भइसक्ने जानकारी दिए ।
आयोगले स्थानीय तह निर्वाचनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ । कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको पौडेलले बताए ।
प्रवक्ता पौडेलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको बताए । मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहीता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो ।
त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरुलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ । प्रवक्ता अधिकारीले निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई स्पष्टीकरण सोधेको पनि अवगत गराए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved