काठमाडौं : आयोजक भारतलाई पराजित गर्दै अस्ट्रेलियाले एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आईतबार भारतविरुद्ध ६ विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एक दिवसीय विश्वकपको उपाधि हात पारेको हो ।
गुजरातको अहमदाबादमा अवस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनायो । उसका लागि के.एल राहुलले ६६ रन बनाउँदा विराट कोहलीले ५४ रन जोडे भने बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए ।
२ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा ओपनर ट्राभिस हेडको शानदार शतक महत्वपूर्ण रह्यो । हेडले १ सय ३५ रन बनाए । उनले १५ चौका र ४ छक्काको मद्धतले सो रन बनाएका हुन् । उनले चौथों विकेटका मार्नस लाबुसेनसँग मिलेर १ सय ९२ रनको साझेदारी गर्दै टिमको जित निश्चित गरेका थिए ।
लिग चरणको खेलमा अष्ट्रेलियालाई पराजित गरेपनि फाइनलमा भारतले जित निकाल्न सकेन । जितसँगै अष्ट्रेलिया छैटौं पटक विश्व विजेता बनेको छ । आठ पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको अष्ट्रेलियाले ६ पटक उपाधि उचाल्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved