जननायक बिपी कोइरालाको ३९ औँ स्मृति दिवस आज

  • श्रावण ६, २०७८
  • १७८९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी ।मुलुकमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका जननायक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी (विश्वेश्वरप्रसाद) कोइरालाको ३९ औं स्मृति दिवस आज (बुधबार) परेको छ । 

विविध कार्यक्रम गरेर ३९ औँ बिपी स्मृति दिवस मुलुकभर मनाइँदै छ । मुलुकको साहित्यिक क्षेत्रको विकास र देशलाई राणा शासनबाट मुक्त गर्न बिपीको महत्वपूर्ण योगदान छ । उनकै नेतृत्वमा नेपालमा एकतन्त्रीय एवं जहानीय राणा शासनको अन्त्य भएको हो । राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विक्रम संवत २००३ सालमा बिपीकै अग्रसरतामा नेपाल राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो ।  

राणा परिवारबाटै विद्रोह गरेर सुवर्णशम्शेरलगायतले २००५ सालमा स्थापना गरेको नेपाली प्रजातन्त्र काङ्ग्रेससँग २००६ साल चैत २६ गते राष्ट्रिय काङ्ग्रेसको एकता भएपछि मुलुकमा सशस्त्र क्रान्तिको घोषणा भयो । यही सशस्त्र क्रान्तिको बलमा २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना सम्भव हुँदा जनविरोधी राणा शासनको अन्त्य हुन पुग्यो ।   

मुलुकमा प्रजातन्त्र स्थापनापछि काङ्ग्रेस–राणा सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए । उनै प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औँ स्मृति दिवस आज मनाइँदै छ । 

मुलुकमा राजा महेन्द्र शाहले सैनिक ‘कु’ गर्दा  बिपी नेतृत्वको जननिर्वाचित सरकार १८ महिना पनि टिक्न सकेन । सेनाको शक्तिको आडमा सत्ताच्युत गर्दै बिपी लगायतका नेतालाई महेन्द्रले जेल हालेर मुलुकको प्रथम जननिर्वाचित सरकारको अस्तित्व समाप्त पारेका थिए । 

विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री बिपीसहित संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइयो । बिपी २०१७ सालपछि आठ वर्ष र २०३३ सालपछि दुई वर्ष जेल परे । 

विसं १९९२ मा ‘चन्द्रवदन’ कथामार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गरेका बिपीको दोषी चश्मा कथासङ्ग्रह लगायतका कृति प्रकाशित छन् । उनले सुन्दरीजल बन्दीगृहमा एक दर्जन बढी साहित्यिक कृतिको रचना गरेका थिए । 

बिपीले आफू कारागारमा रहँदा  ‘श्वेतभैरवी’ कथासङ्ग्रह तथा ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘बाबु,आमा र छोरा’, ‘मोदी आइन’,  ‘हिटलर र यहुदी’ उपन्यास तथा ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘आत्मवृत्तान्त’ आत्मजीवनीलगायतका साहित्यिक कृतिको रचना गरे ।

बिपीले प्रजातन्त्र स्थापना र पुनःस्थापनामा पुर्याएको योगदान, जेल जीवनलगायत विषयमा उनीसँग गरिएको कुराकानीमा आधारित ‘आत्मवृतान्त’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर भारत निर्वासनबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगेपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ लगायत पुस्तक प्रसिद्ध छन् ।

बिपीलाई विसं २०२५ सालमा सुन्दरीजल बन्दीगृहबाट उपचारका लागि भनेर रिहा गरिएको थियो । रिहा भएपछि पनि उनी प्रजातन्त्र पुनःस्थापनाका लागि सक्रिय भएरै लागिरहे । कारागारबाट रिहा भएपछि भारत निर्वासनमा बसेर क्रियाशील रहेका बिपी  राष्ट्रियतामाथि खतराको बादल मडारिएको ठहर गर्दै मृत्युदण्डको पर्वाह नगरी एकता र मेलमिलापको नीति लिएर विसं २०३३ मा स्वदेश फर्किए । 

स्वदेश फर्किएर मृत्युदण्डका मुद्दाको सामना गर्दै उनले बहुदलीय व्यवस्था र सुधारिएको निर्दलीय पञ्चायत व्यवस्थाबीच जनमत सङ्ग्रह गराउन नेतृत्वदायी भूमिका निर्वाह गरे । जनमत सङ्ग्रहमा विभिन्न हत्कण्डा अपनाई बहुदल पक्षलाई हराइए पनि उनले परिणामलाई सहर्ष स्वीकार गरे । प्रजातन्त्र पुनःस्थापनामा सक्रिय रहँदारहँदै २०३९ साल साउन ६ अर्थात् आजकै दिन उनको निधन भएको हो । घाँटीको अर्बुद रोगबाट उनी पीडित थिए । 

प्रजातान्त्रिक समाजवादका व्याख्याताका साथै ‘सोसलिस्ट इन्टरनेशनल’ को उपाध्यक्षका रुपमा समेत बिपी सक्रिय थिए । उनको स्मृति दिवस विभिन्न संस्थाले विविध कार्यक्रम गरेर मनाउने गर्छन् । 

कोरोना महामारीका कारण सामूहिक रूपमा कार्यक्रमको आयोजना गर्न सम्भव नभए पनि स्मृति दिवसमा प्रविधिको प्रयाग गरेर बिपीका विचार, दृष्टिकोण, योगदान, व्क्तित्व सम्बन्धी सेमिनार वा गोष्ठी सञ्चालन गरिने भएको छ । उनको स्मृति दिवसमा विभिन्न संस्थाहरुले रक्तदान, वृक्षारोपण, वृद्ध तथा बिरामी हरुलाई फलफुल बितरण, सरसफाई लगायतका गतिविधी गर्ने गर्छन् । 

नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बिपी काङ्ग्रेजनमा मात्रै नभइ सिङ्गो मुलुकमा जनप्रीय नेताका रूपमा चिनिन्छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved